जनमत र नागरिक उन्मुक्ति पार्टी एकताकाे नजिक

spot_img

काठमाडौं, ११ चैत्र । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता प्रक्रिया अघि बढाउन गठित कार्यदलको पहिलो बैठक आइतबार साँझ सम्पन्न भएको छ । बैठकमा दुवै पक्षबीच महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको र सहमति नजिक पुगेको जनमत पार्टीका प्रवक्ता एवं कार्यदल सदस्य डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।

बैठकमा पार्टी एकता पश्चातको संरचना, नेतृत्व प्रणाली, चुनाव चिन्ह तथा पार्टीको छाप जस्ता विषयमा छलफल भएको थियो । प्रवक्ता यादवका अनुसार, एकता पछि बन्ने ‘नागरिक जनमत पार्टी’को अध्यक्ष जनमत पार्टीका अध्यक्ष डा. सीके राउत रहने सहमति जुट्ने क्रममा छ। साथै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई एकीकृत पार्टीको संरक्षकको भूमिका दिइनेछ भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने प्रस्ताव अघि सारिएको छ ।

नयाँ पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने तथा चुनाव चिह्नका रूपमा नागरिक उन्मुक्ति पार्टीको ढकियालाई निरन्तरता दिने सहमति जुटेको यादवले बताएका छन् ।

‘केही विषयमा सहमति भइसकेको छ। विधान मण्डलको विषयमा थप छलफल भइरहेको छ। जनमत पार्टीको विधान विस्तृत छ भने नागरिक उन्मुक्ति पार्टीको अलि संक्षिप्त छ। यी दुईलाई कसरी मिलाउने भन्ने विषयमा कुराकानी जारी छ,’ प्रवक्ता यादवले भने। उनका अनुसार, एक साताभित्रै अधिकांश विषयमा सहमति जुट्ने लक्ष्य राखिएको छ ।

दुवै दलबीचको एकता प्रक्रियालाई सहज बनाउन जनमत पार्टीका तर्फबाट अब्दुल खान, डा. शरदसिंह यादव, र बाल गोविन्द चौधरी कार्यदलमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी, र रामलाल डगौरा थारु सदस्य छन्। सहमति प्रक्रियाले तीव्र गति लिन थालेपछि दुवै दलका कार्यकर्ताहरू सकारात्मक रहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय