वीरगन्ज,१६ चैत । पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै आज वीरगन्जमा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले र्याली तथा विरोध कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा शनिबार दिउँसो २ बजे वीरगन्जकाे घण्टाघरमा पत्रकारहरूको ठूलो जमघट भएको थियो। प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकार सुरक्षाको सुनिश्चितता र हत्यारालाई तत्काल कडा कारबाहीको माग गरिएको छ।
यसअघि, नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापना दिवसलाई पत्रकार हत्या र सञ्चार गृह तथा सञ्चारकर्मीमाथि भएका हमलाको विरोधमा शोक र विरोध सभाका रूपमा मनाउने निर्णय गरेको थियो।
विरोध कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साका अध्यक्ष निरन्जन मिस्रा, नेपाल पत्रकार महासङ्घका पर्साका पूर्व अध्यक्ष अनुप तिवारी, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, तुलसी भण्डारी लगायतका पत्रकारहरूको उपस्थिती थियो।
विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष निरन्जन मिस्राले पत्रकारहरूको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्ने र हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग गरे। त्यस्तै, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रता र पत्रकारहरूको अधिकारलाई कुण्ठित गर्ने जुनसुकै प्रयासको कडा विरोध गर्ने चेतावनी दिए।
पत्रकारहरूको स्वतन्त्रता र अधिकार संरक्षणको माग गर्दै विरोध कार्यक्रममा सहभागीहरूले ‘पत्रकारको हत्या सह्य हुँदैन’, ‘पत्रकारको सुरक्षा सुनिश्चित गर’ लगायतका नारा लगाएका थिए।
सञ्चारकर्मीमाथि भएको आक्रमण र हिंसात्मक घटनाले मुलुकमा प्रेस स्वतन्त्रताको भविष्यलाई थप चुनौती दिएको भन्दै विभिन्न सञ्चार संगठनहरूले यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
विरोध कार्यक्रममा सहभागी पत्रकारहरूले राज्यले पत्रकारहरूको अधिकार सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने माग गर्दै थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

