राष्ट्रपति पौडेलद्वारा प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्कारको रक्षा गर्न आह्वान

spot_img

काठमाडौँ, २० चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले नागरिकलाई विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरे पनि हिंसा, आगजनी, लुटपाट र तोडफोडलाई कदापि स्वीकार्न नसकिने स्पष्ट पारेका छन्।

रेडियो नेपालको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले लोकतन्त्रमा जनताको अभिमत नै सर्वोपरि हुने बताउँदै संविधानको मर्म र भावनालाई कसैले बिर्सन नहुने धारणा राखे।

राष्ट्रपति पौडेलले संविधान प्रदत्त अधिकारको प्रयोग गर्दा लोकतान्त्रिक मूल्य, संस्कृति र जिम्मेवारीलाई बिर्सन नहुने बताए। उनले भने, “संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार दिएको छ, जुन लोकतन्त्रको सुन्दर पक्ष हो। तर, यस अधिकारको प्रयोग गर्दा कानुन र जनताप्रति जिम्मेवार बन्नुपर्छ।”

सञ्चार क्षेत्रको भूमिकाबारे बोल्दै उनले लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण रहेको स्मरण गरे। साथै, प्रेस स्वतन्त्रताको रक्षा संविधानमै सुनिश्चित भएको उनले बताए।

राष्ट्रपति पौडेलले रेडियो नेपालको ऐतिहासिक योगदानको प्रशंसा गर्दै **रेडियो नेपाल र २००७ सालको जनक्रान्तिलाई “जुम्ल्याहा घटना”**को संज्ञा दिए। उनले संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै रेडियो नेपालले प्रजातान्त्रिक चेतना प्रवर्द्धनमा खेलेको भूमिकालाई उच्च सम्मान व्यक्त गरे।

कार्यक्रममा राष्ट्रपति पौडेलले जनगायक रामकृष्ण दुवाल र देउडा गायक नन्दकृष्ण जोशीलाई “रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान–२०८१” बाट सम्मान गरे। साथै, वरिष्ठ संगीतकर्मीहरूलाई पनि सम्मान प्रदान गरियो।

नेपालको पहिलो प्रसारण संस्था रेडियो नेपाल औपचारिक प्रसारणको ७५औँ वर्षमा प्रवेश गरेको छ। हाल रेडियो नेपाल २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रशारण गर्दै २४सैँ घण्टा सञ्चालनमा रहेको छ।

सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्तरोन्नति हुँदै गरेको रेडियो नेपालले राष्ट्रिय एकता, विपद् व्यवस्थापन र समृद्धिमा केन्द्रित भई नवीन स्वरूपमा अघि बढ्ने योजना बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय