वीरगन्ज,२९ चैत । वीरगन्जका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, फलफूल पसल लगायतका व्यावसायिक क्षेत्रमा बालश्रम लगाइएका १७ जना बालकहरूको उद्धार गरिएको छ ।
गैरसरकारी संस्था सानो पाइलाले वीरगन्जमा गत बुधबारेदेखि ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन अभियान’ सुरु गरेको छ । अभियानको पहिलो दिन गत बुधवार १७ जना बालकहरूको उद्धार गरिएको सानो पाइलाका प्रेस संयोजक विवेक कर्णले जानकारी दिए ।
उनका अनुसार, वीरगन्जका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, फलफूल पसललगायतका व्यावसायिक क्षेत्रमा काम गरिरहेका विभिन्न उमेरका १७ जना बालकहरूको उद्धार गरिएको हो ।
वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिहरूको सहयोगमा ८ देखि १५ वर्ष उमेरका बालकहरूको उद्धार गरिएको कर्णले बताए ।
बुधवार उद्धार गरिएका १७ मध्ये १२ जना बालकहरूलाई अब उप्रान्त बालश्रममा नलगाउने प्रतिबद्धतासहित बिहीबार उनीहरूको अभिभावकको जिम्मा लगाएर घर पठाइएको कर्णले जानकारी गराए । परिवारको पत्ता नलागेका बाँकी पाँच जना बालकहरूलाई भने सानो पाइलाद्वारा वीरगन्जमा सञ्चालित बाल गृह ‘सानो घर’ मा आश्रय दिएर राखिएको कर्णले बताए ।
उद्धार गरिएका बालकहरूले आफूहरूलाई बिहानदेखि मध्यरातसम्म काम लगाउने गरिएको बताएको कर्णले जानकारी दिए ।
वीरगन्ज महानगरपालिका बालश्रम मुक्त महानगर घोषणा गराउने लक्ष्यसहित सानो पाइलाले ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन अभियान’ सुरु गरेको कर्णले बताए । कर्णका अनुसार, अभियान सुरु गर्नु पूर्व सानो पाइलालले वीरगञ्ज महानगरमा प्रारम्भिक अध्ययन गरेको थियो । उक्त अध्ययनका क्रममा विभिन्न व्यावसायिक क्षेत्रमा कानुन विपरीत बालबालिकालाई बालश्रममा लगाइएको भेटिएपछि गत बुधबारेदेखि अभियान सुरु गरेको उनले बताए ।
उद्धार गरेर परिवारजनको जिम्मा लगाइने बालबालिकाहरूको बाल अधिकारको रक्षा गर्दै उनीहरूको पालनपोषणका लागि व्यवस्था मिलाउन सानो पाइलाले पहल गर्ने कर्णले बताए । यस्तै उद्धारपछि अभिभावक वा परिवारको पत्ता लाग्न नसकेका बालबालिकाको दीर्घकालीन व्यवस्थापनका लागि संस्थाले काम गर्ने पनि उनले बताए । यसका लागि सरोकारवाला विभिन्न निकायहरूसँग संस्थाले छलफल पनि गरिरहेको कर्णले बताए ।
बालश्रम सम्बन्धी ऐनले १८ वर्षभन्दा कम उमेरका कार्यपालिका बालक भनी परिभाषित गरेको छ । १४ वर्ष उमेर नपुगेका बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउन पाइँदैन । त्यस्तै १४ देखि १८ वर्षसम्मको उमेरका बालबालिकालाई काममा लगाउनै पर्ने भएमा रोजगारदाताले श्रम कार्यालयबाट स्वीकृति लिनुपर्ने हुन्छ । अन्यथा काममा लगाएमा रोजगारदातालाई कैद सजाय र जरिवानाको व्यवस्था हुने बालश्रम सम्बन्धी ऐनमा उल्लेख छ ।

