काठमाडाैं,०१ वैशाख । बलिउड सुपरस्टार सलमान खानलाई फेरि एकपटक ज्यान मार्ने धम्की दिइएको छ। आइतबार राति मुम्बईको वरलीस्थित यातायात विभागको व्हाट्सएपमा अज्ञात व्यक्तिले पठाएको सन्देशमा सलमानको कारलाई बमले उडाउने चेतावनी दिइएको छ।


सन्देशमा लेखिएको थियो, “हामी सलमान खानको घरमा पस्छौं र उनलाई मार्छौं।” धम्कीपछि मुम्बई पुलिस सतर्क बनेको छ। वरली प्रहरीले अज्ञात व्यक्तिविरुद्ध भारतीय दण्ड संहिता (IPC) को धारा 351, 506, र 120(B) अन्तर्गत उजुरी दर्ता गर्दै अनुसन्धान थालेको जनाएको छ।
यो कुनै नयाँ घटना होइन। गत वर्ष अप्रिल १४ मा सलमानको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा गोली प्रहार भएको थियो। त्यस आक्रमणको जिम्मेवारी चर्चित अपराधी लरेन्स विश्नोईको ग्याङले लिएको थियो। त्यस घटनापछि प्रहरीले सात जना अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले हिरासतमा आत्महत्या गरेका थिए।

पछिल्ला धम्कीहरूपछि अभिनेता सलमानले केही समय मौनता अपनाए पनि हालै फिल्म सिकन्दर को पत्रकार सम्मेलनमा भने, “जबसम्म भगवान र अल्लाहले मेरो जीवन लेख्नु भएको छ, म बाँच्नेछु।”
सलमानमाथि भइरहेका यी लगातार धम्कीपछि महाराष्ट्र सरकारले उनको सुरक्षामा कडाइ गरेको छ। उनी हाल वाई प्लस श्रेणीको सुरक्षामा छन्। उनको सुरक्षामा ११ जना सशस्त्र सुरक्षाकर्मी खटिएका छन्, जसमा कमाण्डो, पीएसओ र एस्कर्ट गाडी पनि सामेल छन्।
सलमानको चल्ने कार पूर्ण रूपमा बुलेटप्रुफ छ, साथै अगाडि र पछाडि एस्कर्ट गाडी सधैँ साथमा हुन्छन्। यस्तै, ग्यालेक्सी अपार्टमेन्टको बाल्कोनी बुलेटप्रुफ बनाइएको छ भने घर वरिपरि उच्च रिजोल्युसन सिसिटिभी क्यामेराहरू पनि जडान गरिएका छन्।
मुम्बई प्रहरी घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ भने सलमान खानको सुरक्षा थप बलियो बनाइएको छ। बलिउड स्टारमाथि यस्तो लगातार खतरा हुनु चिन्ताको विषय बनेको छ।