जनकपुर,०४ असार । मधेस प्रदेश सरकारले प्रदेशभित्रका उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘एक पालिका एक उत्कृष्ट शिक्षक पुरस्कार’ कार्यक्रममा भाग लिन भनिएको छ । यस कार्यक्रमअन्तर्गत मधेस प्रदेशका १३६ वटै स्थानीय तहहरूबाट उत्कृष्ट शिक्षकको सिफारिस गर्न सम्बन्धित तहहरूलाई निर्देशन दिइएको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशद्वारा जारी सूचनामा प्रत्येक स्थानीय तहले ३ जना योग्य शिक्षकको नाम सिफारिस गरी मन्त्रालयमा पठाउन आग्रह गरेको छ । प्रत्येक पालिकाले तीनजनाको शिक्षकको नाम मन्त्रालयमा सिफारिस गर्न शिक्षा मन्त्रालयले भनेको छ । विभिन्न ६ बुँदे मूल्याकन मापदण्ड राख्दै ७ दिनभित्र शिक्षा मन्त्रालयमा नाम सिफारिस गर्न आग्रह गरिएको छ । पालिकाहरुले शिक्षकको नाम छनौट गर्दा यी मापदण्डहरुका अनुसार नाम छनौट गर्न लेखिएको छ ।
जुन यस्ता छन् :
–शिक्षकले अध्यापन गरेको विषयमा सोही तह वा विषयमा गराइएको कक्षाको सबैभन्दा बढी पास प्रतिशत तथा अन्तिम परीक्षाको नतिजा,
–शैक्षिक सत्र २०८१ मा विद्यालयमा उपस्थिति दिन,
–अध्यापन गरेको विषयमा गरेको अनुगमनको प्रतिवेदन,
–सेवा अवधि,
–शिक्षण कार्यबाहेक अतिरिक्त जिम्मेवारी,
–समुह, अभिभावक, विद्यालय परिवार तथा विद्यार्थीहरूसँगको समन्वय।

शिक्षा मन्त्रालयका शाखा अधिकृत राम हृदयर यादवद्वारा हस्ताक्षरित पत्रमा असार २ गतेसम्ममा सम्बन्धित विवरणसहित सिफारिस पेश गर्न भनिएको छ । पुरस्कार कार्यक्रमले शिक्षण क्षेत्रमा योगदान दिने शिक्षकहरूको सम्मान र हौसला अभिवृद्धि हुने शिक्षा मन्त्रालयको अपेक्षा छ ।