काठमाडाैं,१० साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सनका लागि कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गराइसकेका छन्।
क्यानले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै, दर्ता भएका सबै खेलाडीहरूको विवरण आठ फ्रेन्चाइज टोलीलाई प्रदान गरिने बताएको छ। टोलीले आवश्यक प्राविधिक मापदण्ड र प्राथमिकताको आधारमा अक्सनका लागि अन्तिम खेलाडी सूची चयन गर्नेछन्।
क्यानले जनाएको छ कि अक्सनको प्रक्रियाअघि आठै फ्रेन्चाइज टोलीहरूले आफ्नो ‘रिटेन्सन लिस्ट’ सार्वजनिक गरिसकेका छन्। अब बाँकी खेलाडीहरू अक्सन मार्फत टोलीमा अनुबन्धित हुनेछन्।
एनपीएलको दोस्रो संस्करणप्रति क्रिकेटप्रेमीको अपेक्षा उच्च रहेको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन क्यानले खेलाडी छनोट प्रक्रियालाई पारदर्शी बनाउने बताएको छ।

