काठमाडौं,२२ वैशाख । नेपाल प्रहरीले सञ्चालन गर्दै आएको अनलाइन ट्राफिक जरिवाना भुक्तानी प्रणाली तथा अनलाइन भर्ना छनोट शुल्क भुक्तानी सेवा आज दिउँसो ४ बजेसम्म अवरुद्ध हुने भएको छ ।
महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको ‘राजस्व व्यवस्थापन सूचना प्रणाली’मा प्राविधिक मर्मत कार्य भइरहेकाले सेवा अस्थायी रूपमा प्रभावित भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार मर्मत अवधिभर ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना अनलाइनमार्फत तिर्ने सेवा र भर्ना प्रक्रियासम्बन्धी शुल्क भुक्तानी प्रणाली प्रयोग गर्न नसकिनेछ ।
सेवाग्राहीलाई आवश्यक भुक्तानीका काम दिउँसो ४ बजेपछि मात्रै गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।

