चितवन, साउन १२ । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा प्रगति नदेखिएपछि १० करोड रुपैयाँभन्दा बढी बजेट फिर्ता भएको छ। संघीय तथा प्रदेश सरकारद्वारा विनियोजित उक्त रकम काम नगरी फ्रिज भएर पुनः सरकारतर्फ फिर्ता गरिएको हो।
भरतपुर महानगरपालिकाको समन्वयमा निकासा गरिएको बजेटमध्ये निर्माण कम्पनीले समयमै काम नगर्दा १० करोड ५४ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम खर्च हुन नसकेको महानगरका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले जानकारी दिए।
उनका अनुसार, संघीय सरकारले निकासा दिएको २५ करोडमध्ये १७ करोड ६५ लाख रुपैयाँ मात्र खर्च भयो भने बाँकी ७ करोड ३४ लाख रुपैयाँ फिर्ता भयो। यस्तै, बागमती प्रदेश सरकारबाट आएको १० करोडमध्ये ६ करोड ८० लाख रुपैयाँ मात्र खर्च हुन सक्यो, बाँकी ३ करोड २० लाख रुपैयाँ फिर्ता गरिएको छ।
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्ट भेन्चर नामक निर्माण कम्पनीसँग २०८१ साल असार २३ गते ७८ करोड ५० लाख रुपैयाँमा रङ्गशाला निर्माणको ठेक्का भएको थियो। सम्झौताअनुसार २०८३ साल पुस २२ गतेभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म २.४९ प्रतिशत मात्र प्रगति भएको छ।
महानगरपालिकाले छुट्टाएको ५ करोड रुपैयाँ पनि फ्रिज भइसकेको छ। बागमती प्रदेश सरकार र भरतपुर महानगरबीच ७०:३० अनुपातमा खर्च बोक्ने सहमति रहेकोमा कामको गति सुस्त भएको प्रति स्थानीय तह, प्रदेश र संघ तीनै तह चिन्तित देखिएका छन्।

