काठमाडौं,१७ भदौ । अविरल वर्षाले जनजीवन प्रभावित बनेपछि केदारनाथ यात्रा अस्थायी रूपमा स्थगन गरिएको छ। रुद्रप्रयागमा लगातार भइरहेको वर्षा र मौसम विभागको चेतावनीलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले सेप्टेम्बर १ देखि ३ तारिखसम्मका लागि यात्रा बन्द गर्ने निर्णय गरेको हो।
जिल्ला मजिस्ट्रेट प्रतीक जैनले तीर्थयात्रीहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै यो निर्णय गरिएको जानकारी दिए। साथै, सम्बन्धित सबै निकायलाई उच्च सतर्कतामा रहन र आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
प्रशासनले यात्रामा निस्किसकेकाहरुलाई सुरक्षित स्थानमा बस्न र यात्रा योजना स्थगित गर्न अनुरोध गरेको छ। मौसम सामान्य भएपछि यात्रा पुनः सञ्चालन गरिने प्रशासनले स्पष्ट पारेको छ।



