सिमरा,१९ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ सोमबार बारा पुगेका छन्। सिमरा विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गरे।
उक्त अवसरमा उनले भने, “पहिलो पटक म सिमरामा आएको छु। अब विस्तारै देशभर आफ्नो चुनावी अभियान सुरु गर्ने उद्देश्यले आएको हुँ। अहिलेको चुनावी अभियान देशैभर फैलाउने तयारी भइरहेको छ।”
अध्यक्ष घिसिङले पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएको र विभिन्न सिटमा प्रतिस्पर्धा गर्दै जित्ने अपेक्षा रहेको जानकारी दिए। उनले पूर्वदेखि पश्चिमसम्मको चुनावी अभियानलाई सुदृढ बनाउने योजना रहेको पनि उल्लेख गरे।
यस्तै, उनले रास्वपा सम्बन्धी सहमतिका प्रयास पूरा नभएको र त्यसकारण उज्यालो नेपालमा गएको बताए। “जनता र देशको माग अनुसार हामीले सबै छाडेर एउटै सहमतिमा जाने उद्देश्य राखेका थियौं, तर त्यो कार्यान्वयन हुन सकेन,” उनले थपे।
कुलमान घिसिङको बारा भ्रमणले आगामी निर्वाचनमा पार्टीको सक्रियता र क्षेत्रीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

