काठमाडाैं,०९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। शुक्रबार दिउँसो उनले निर्वाचन अधिकृत कार्यालयलाई इमेल र फोन मार्फत उम्मेदवारी फिर्ता लिने जानकारी गराएकी हुन्।
निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार, “उहाँले फोन र इमेल दुबैमार्फत उम्मेदवारी फिर्ता लिने सूचना दिनुभएको छ। हामीले यो सूचनालाई तथ्याङ्कका रूपमा लिएका छौं। उहाँ आफैं कार्यालयमा उपस्थित भएर सनाखत गर्ने तयारीमा हुनुहुन्छ।”
तामाङले इमेलमा लेखेकी छन्, “उम्मेदवारको नाममा मेरो पनि नाम समावेश भएकाले हाल प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न इच्छा नभएकाले दफा २५ (१) अनुसार आफ्नो नाम फिर्ता गर्ने सूचना गर्दछु।”
यसअघि सामाजिक सञ्जालमा तामाङको जर्मन स्थायी आवासीय अनुमति पत्र (पीआर) सार्वजनिक भएपछि विवाद सिर्जना भएको थियो। यस विषयलाई लिएर उनले आफ्नो उम्मेदवारी फिर्ता गर्ने तयारी गरेको समाचार बाहिरिएको भए पनि तामाङले स्पष्ट पारिन् कि “त्यस कारणले मात्रै मैले फिर्ता लिन लागेकी होइन।”
उनले थपिन्, “अहिले छलफल भइरहेको छ। २ बजेतिर निश्चित निर्णय थाहा हुनेछ।” यस कदमपछि धादिङ–१ मा उम्मेदवारी समीकरणमा परिवर्तन आउने अपेक्षा गरिएको छ।

