काठमाडाै,२१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ। स्ट्रेट अफ हर्मुज क्षेत्रमा रोकिएका जहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी पहलको संकेतपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा अल्झिएका व्यापारिक जहाजहरूलाई सुरक्षित मार्ग दिन अमेरिका सहयोग गर्ने बताएका थिए। यस घोषणापछि लगानीकर्ताहरूमा केही राहतको भावना देखिएको छ।
बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ अमेरिकी डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ।
ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाबीचको व्यापारिक हितलाई ध्यानमा राख्दै समुद्री मार्ग सहज बनाउने प्रतिबद्धता जनाएका छन्। यद्यपि, अमेरिका र इरानबीच तनाव कायम रहेकाले मूल्य अझै १०० डलर माथि नै रहेको विश्लेषकहरू बताउँछन्।
स्ट्रेट अफ हर्मुज क्षेत्रमा व्यापारिक आवागमन अझै सीमित छ र दुवै देशबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। इरानले नाकाबन्दी र आणविक मुद्दामा आफ्ना कडा अडान कायम राखेको छ भने अमेरिका वार्तालाई प्राथमिकतामा राख्दै आएको छ।
यसैबीच, तेल निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले आगामी जुन महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेलले उत्पादन बढाउने निर्णय गरेको छ।

