संविधान दिवसमा बीरगन्जमा मधेसी मोर्चाको शान्तिपूर्ण विरोध

spot_img

बीरगन्ज,०३ असाेज । संविधान दिवस–२०८२ का दिन सात दलीय मधेसी मोर्चाले बीरगन्जमा शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ।

संविधानले मधेसलाई दिएको अधिकार अपुरो र विभेदपूर्ण रहेको आरोप लगाउँदै मोर्चाका नेताकार्यकर्ताले घण्टाघरस्थित शहीद स्मारकमा पुगेका थिए। उनीहरूले हातमा कालो पटी बाँधेर संविधानप्रति असन्तुष्टि व्यक्त गरे। साथै, मधेस आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको सालिकमा माल्यार्पण गर्दै संविधानले मधेसको योगदान र बलिदानलाई बेवास्ता गरेको दाबी गरे।

कार्यक्रममा जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, सशिकपुर मियाँ, निजामुदिन असारीलगायत सात दलीय मोर्चाका नेताहरू उपस्थित थिए। उनीहरूले संविधान दिवसलाई उत्सवको रूपमा नभई अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्राको स्मरण गर्ने दिनका रूपमा मनाउनुपरेको बताए।

जसपा अध्यक्ष यादवले “मधेस आन्दोलनको संघर्ष र बलिदानलाई बिर्सन मिल्दैन, संविधानले अझै न्याय दिन सकेको छैन, त्यसैले हाम्रो संघर्ष जारी रहनेछ,” भने। त्यस्तै, जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखिन्।

नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व नसमेटिएको, मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका माग उपेक्षित भएको भन्दै तिनका अधिकार सुनिश्चित गर्न संविधान सच्याउनुपर्नेमा जोड दिए।

स्थानीयको अवलोकनमा सम्पन्न कार्यक्रम शान्तिपूर्ण रूपमा सकिएको आयोजकहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय