बीरगन्ज,१६ वैशाख । बीरगन्ज भन्सार कार्यालय मा ‘अधिकतम खुद्रा मूल्य’ (एमआरपी) लागू गर्ने सरकारी निर्णयसँगै भन्सार जाँचपास प्रक्रिया प्रभावित भएको छ। आजदेखि आयातकर्ता तथा स्वदेशी उत्पादनकर्ताले जाँचपास रोकेपछि काम आंशिक रूपमा ठप्प भएको हो।
सरकारले २०८२ चैत २६ गतेदेखि भन्सार विन्दुमा आउने तथा स्वदेशमै उत्पादन हुने सबै सामानमा अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने निर्णय गरेको थियो। तर व्यापारीहरूले उक्त व्यवस्था कार्यान्वयन नगरी सामान ल्याउन खोजेपछि समस्या उत्पन्न भएको हो।
सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार एमआरपी बिना आएका सामानको जाँचपास रोकिँदा प्रक्रिया अवरुद्ध भएको छ। उनका अनुसार औद्योगिक कच्चापदार्थ, फलफूल र तरकारीजस्ता अत्यावश्यक वस्तुको जाँचपास भने जारी छ, तर अन्य अधिकांश सामान रोकिएको छ।
दैनिक औसत ५०–६० करोड रुपैयाँ राजस्व संकलन हुने यस भन्सारमा अवरोध हुँदा राजस्वमा समेत असर पर्ने देखिएको छ। विष्टले व्यापारीलाई सरकारी नीतिमा सहयोग गर्न आग्रह गरेका छन्।
उता बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम ले भने अचानक एमआरपी लागू गर्दा आयात र बजार व्यवस्थापनमा समस्या आएको बताएका छन्। “एकैचोटि सबै सामानमा लागू गर्दा आपूर्ति शृङ्खला प्रभावित हुन्छ,” उनले भने।
व्यवसायीहरूले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार पर्याप्त छलफल बिना निर्णय गरिएको भन्दै चरणबद्ध रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।
एमआरपी विवाद समाधान नहुँदा भन्सार गतिविधि, आपूर्ति प्रणाली र सरकारी राजस्वमा दबाब बढ्ने संकेत देखिएको छ।

