अमेरिकी विशेष दूत गोर आज काठमाडौँ आउँदै

spot_img

काठमाडौँ,१७ वैशाख । डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्ने भएका छन्।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुरको भ्रमणपछि छोटो समयमै हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।

भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने प्रयास भए पनि अहिलेसम्म भेटको औपचारिक समय तय भएको छैन। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार हालसम्म कुनै निश्चित कार्यतालिका बनेको छैन।

प्रधानमन्त्रीले विदेशी कूटनीतिज्ञहरूसँग “वान–टु–वान” भेट नगर्ने नीति अपनाइरहेको बुझिएको छ। यसअघि उनले विदेशी राजदूतहरूसँग सामूहिक भेट मात्रै गरेका थिए।

भ्रमण अवधिमा विशेष दूत गोरले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भने औपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ।नेपाल आउनुअघि गोरले बङ्गलादेश, भुटान, श्रीलङ्का र काजिकिस्तानको भ्रमण गरी त्यहाँका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेका थिए।

यसैबीच आगामी वैशाख २८ गते भारतीय विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको छ। तर उच्चस्तरीय भेटघाटको स्वरूपबारे अझै स्पष्टता नआएकाले कूटनीतिक गतिविधि चासोको विषय बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय