वीरगन्ज,०९ पुस । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका- ४ सुहपुर–सोहरीमा बुधबारदेखि सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। यस इकाई स्थापना भएपछि स्थानीय बासिन्दाले उपचारका लागि जगरनाथपुरसम्म धाउनुपर्ने बाध्यता हटेको छ।
यसअघि स्वास्थ्य सेवा वडाको जगरनाथपुरमै मात्र उपलब्ध थियो। तर सुहपुर, सोहरी र हरपुर गरी तीन गाउँका करिब दुई हजारभन्दा बढी बासिन्दाले स्वास्थ्य सेवा लिन जगरनाथपुरसम्म आउनुपर्ने बाध्यता थियो। गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको पहलमा नयाँ कार्यालय निर्माण गरी बुधबारदेखि सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए।
सामुदायिक स्वास्थ्य सेवा इकाईको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा पर्सा क्षेत्र नं. ४ का निवर्तमान सांसद रमेश रिजालले गरेका हुन्। उद्घाटन अवसरमा पूर्वमन्त्री रिजालले गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएकाले स्थानीय बासिन्दाले विश्वासका साथ सेवा लिनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्ष प्रभुनाथ नुनिया लगायतको उपस्थिती रहेको थियो।




