spot_img

सुनसरीको लौकहीमा झडप, स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास

spot_img
spot_img

काठमाडौं,१७ पुस । सशस्त्र प्रहरीको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको कोशी गाउँपालिका–१ अन्तर्गत लौकही बजार क्षेत्र तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार भीडलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रयोग गरिएको हो। “स्थिति नियन्त्रणबाहिर जान नदिन अश्रु ग्यास प्रहार गरिएको हो, अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ,” उनले बताए।

घटना बिहीबार राति करिब १ बजे भएको हो। तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको प्रहरीले जनाएको छ। साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा घर नजिकै गोली लागेको बताइएको छ। प्रारम्भिक जानकारीअनुसार उनलाई दुई राउन्ड गोली लागेको थियो।

घटनापछि आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोड भएको जनाइएको छ। स्थिति तनावग्रस्त रहे पनि प्रशासनले वार्तामार्फत समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ। हाल जिल्ला प्रशासन कार्यालयमा स्थानीय प्रतिनिधि र प्रशासनबीच छलफलको तयारी भइरहेको डीआईजी घिमिरेले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय