बारा,०३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच विभिन्न स्थानमा कार्यालयहरू सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले यसअघि नै बाराका चारै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिसकेको थियो। तोकिएअनुसार क्षेत्र नं. १ मा शम्भुकुमार बस्नेत, क्षेत्र नं. २ मा किरणकुमार सिंह, क्षेत्र नं. ३ मा प्रकाश अधिकारी र क्षेत्र नं. ४ मा गम्भीर घिमिरे निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका छन्। जिल्ला अदालत बारा का न्यायाधीश प्रकाश अधिकारीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीसमेत दिइएको छ।
स्थापना गरिएका कार्यालयहरूमध्ये क्षेत्र नं. १ को कार्यालय कोल्हवी नगरपालिकामा, क्षेत्र नं. २ को महागढीमाई नगरपालिकामा, क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिमा र क्षेत्र नं. ४ को राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रमा सञ्चालनमा आएको छ।
कार्यालय स्थापना कार्यक्रममा बोल्दै क्षेत्र नं. ४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए। उनले निर्वाचन प्रक्रियामा कुनै पनि राजनीतिक दलप्रति झुकाव नरहने स्पष्ट पार्दै माघ ६ गतेदेखि निर्वाचनसम्बन्धी औपचारिक कार्यक्रम सुरु हुने जानकारी दिए।
पछिल्लो तथ्याङ्कअनुसार बारा जिल्लामा कुल मतदाताको संख्या ४ लाख ६५ हजार ७६५ पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचनको तयारीले तीव्रता पाएको छ।

