काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबारको तुलनामा सोमबार प्रतितोलामा ४ हजार २०० रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको पुगेर नयाँ रेकर्ड बनाएको थियो । यो रेकर्डलाई सोमबार (माघ ५) तोडिएको हो ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार नयाँ रेकर्ड बनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोलामा १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

