काठमाडौं,०६ माघ । वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएर आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सोही सरकारमा रहेका शिक्षामन्त्रीसहित चार मन्त्रीले चुनावमा सहभागी हुन राजीनामा दिएका हुन्।
आज बिहान राजीनामा दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका छन्।
निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् भने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने अन्तिम दिन हो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन यसअघि नै पुस १३ र १४ गते सम्पन्न भइसकेको छ।




