वीरगन्ज,११ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्।
चुनावी गतिविधि प्रारम्भ गर्नुअघि रुंग्टाले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पूजापाठ गरेका थिए। धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान थालेको उनको सचिवालयले जनाएको छ।
रुंग्टाले निर्वाचन लक्षित प्रचारप्रसार, कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्। आगामी दिनमा निर्वाचन क्षेत्रभर सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। कांग्रेसबाट उम्मेदवार बनेपछि जनताको विश्वास जित्दै विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएको रुंग्टाको सचिवालयको भनाइ छ।



