spot_img

छ महिनामा १ अर्ब ७५ करोड नाफा कमायो राष्ट्रिय वाणिज्य बैंकले

spot_img
spot_img

काठमाडौं,११ माघ । सरकारी स्वामित्वको अग्रणी वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिना (पुस मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक विवरणअनुसार बैंकले यस अवधिमा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यद्यपि बैंकको खराब कर्जा (निष्क्रिय कर्जा) भने बढेर कुल कर्जाको ४.५५ प्रतिशत पुगेको छ, जसलाई बैंक व्यवस्थापनले गम्भीर रूपमा नियालिरहेको जनाएको छ।

उत्पादनशील क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकतामा राख्दै आएको बैंकका अनुसार निष्क्रिय कर्जाको बढ्दो अनुपात चुनौतीका रूपमा देखिएको छ। वार्षिकोत्सव समारोहमा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको बताए। पुँजीबजार, निर्माण र सेवा क्षेत्रमा देखिएको सकारात्मक गतिविधिले आगामी दिनमा लगानी विस्तारमा सहयोग पुग्ने उनको विश्वास छ।

हाल बैंकले ४७ लाख ४३ हजार निक्षेपकर्ता र २ लाख २६ हजारभन्दा बढी ऋणीलाई सेवा दिइरहेको छ। १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै १९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह गरेको जनाएको छ।

तरलता पर्याप्त भए पनि पुँजी पर्याप्तता अनुपातका कारण कर्जा विस्तारमा केही सीमितता रहेको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार बैंकसँग १ खर्ब ३९ अर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध भए पनि तत्काल १८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सकिने अवस्था छ। पुँजीगत आधार सुदृढ गर्न बैंकले छिट्टै ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने तयारी गरिरहेको पनि सीईओ खनालले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय