काठमाडाैं,१२ माघ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोस्थित एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका हुन् ।
आक्रमण ग्वानाजुआतो राज्यको सलामान्का शहर नजिकै भएको मेयर कार्यालयले जनाएको छ । जारी विज्ञप्तिअनुसार घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने घाइते अवस्थामै अस्पताल पुर्याइएका एक व्यक्तिको उपचारका क्रममा निधन भएको हो । गोली लागेर घाइते भएका १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा अपरेशन सुरु गरेको जनाएको छ । घटनाको कारण र आक्रमणकारीबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।
यसअघि शनिबार राति पनि सलामान्का शहरमा मानव अवशेष राखिएका चार वटा झोला फेला परेको थियो । ग्वानाजुआतो राज्य औद्योगिक र पर्यटकीय रूपमा महत्वपूर्ण मानिए पनि पछिल्ला वर्षहरूमा बढ्दो सामूहिक हिंसाका कारण मेक्सिकोको सबैभन्दा हिंसाग्रस्त राज्यहरूमध्ये एक बनेको छ ।
राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोमा हत्या दर पछिल्लो एक दशककै सबैभन्दा कम स्तरमा झरेको दाबी गरेकी छन् । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार देशको हिंसात्मक अपराध दर अझै पनि उच्च रहेको बताइन्छ । (रासस/एएफपी)

