काठमाडौं,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पश्चिम तराई केन्द्रित भ्रमणमा सक्रिय देखिएका छन्। झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडी क्षेत्रको भ्रमण सकेर उनी सोमबार काठमाडौंबाट सुदूरपश्चिमतर्फ प्रस्थान गरेका हुन्।
कार्यतालिका अनुसार बालेन मंगलबार (आज) दिउँसो सुदूरपश्चिम पुग्नेछन्। त्यसअघि उनले बाँके र बर्दियामा विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै समर्थकहरूसँग भेटघाट गरिरहेका छन्।
यसै क्रममा आज बिहान उनले बर्दिया–२ अन्तर्गत राजापुरमा स्थापना गरिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। पार्टी संगठन विस्तारका क्रममा गरिएको उक्त उद्घाटनलाई स्थानीय कार्यकर्ता तथा समर्थकहरूले चासोका साथ हेरेका छन्। त्यससँगै बालेन शाहले बर्दियाको प्रसिद्ध धार्मिक स्थल ठाकुरबाबा मन्दिरमा दर्शनसमेत गरेका छन्। धार्मिक तथा राजनीतिक कार्यक्रमलाई सँगसँगै अघि बढाउँदै उनी पश्चिम क्षेत्रका मतदाता र समर्थकसम्म पुग्ने प्रयासमा छन्।



