वीरगन्ज,१३ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरी पन्त को विशेष उपस्थितिमा सोमबार राति इनारवामा कार्यकर्ता भेला सम्पन्न भएको छ।
भेलामा सहभागी स्थानीय युवाहरूले पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै रास्वपाप्रति खुला समर्थन जनाएका थिए। उनीहरूले देशमा नयाँ सोच, युवा नेतृत्व र नयाँ राजनीतिक संस्कार आवश्यक रहेको धारणा राखेका थिए।
उम्मेदवार पन्तले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रास्वपाको मुख्य एजेन्डा भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको स्पष्ट पारे। उनले भने, “पुराना दलहरूको चरम भ्रष्टाचारका कारण जनता अब युवा नेतृत्वको खोजीमा छन्। पर्सा–१ मा पनि जनताले परिवर्तन खोजेकै कारण रास्वपाप्रति जनलहर बढ्दै गएको छ।”
पन्तले मतदातासँगको भेटघाट अनुभव सुनाउँदै बताए, “गाउँ–गाउँ पुगेदेखि युवादेखि वृद्धासम्मले अपार माया र भरोसा देखाइरहेका छन्। जनताको एउटै चाहना छ – यसपटक पर्सा–१ मा परिवर्तन हुनुपर्छ।”
उहाँले रास्वपा नेतृत्वप्रति बढ्दो जनसमर्थनलाई फागुन २१ गते हुने निर्वाचनसम्म कायम राख्न सम्पूर्ण कार्यकर्ता र समर्थकहरूलाई सक्रिय हुन आग्रह गरे। पन्तले युवाहरूलाई देश परिवर्तनको मुख्य शक्ति ठहर गर्दै भने, “पुरानो राजनीति, निराशा र अवसरको अभावबाट दिक्क भएका युवाहरू आशा र विश्वासका साथ रास्वपासँग जोडिनु भएको छ। यो केवल समर्थन होइन, परिवर्तनको स्पष्ट संकेत हो।”
भेलामा विभिन्न पृष्ठभूमिका स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा रास्वपासँग जोडिँदै आगामी निर्वाचनको चुनावी अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले ‘घण्टी’ चुनाव चिह्न को पक्षमा जनमत निर्माण गर्ने जिम्मेवारी लिने बताएका छन्।



