काठमाडौं,३० जेठ । भारतको असम राज्यस्थित जोरहाट एयर फोर्स स्टेशनमा भारतीय वायुसेनाको एएन–३२ सैन्य यातायात विमान दुर्घटना हुँदा पाँच जना वायुसेना सदस्यको मृत्यु भएको छ।
भारतीय वायुसेनाका अनुसार दुर्घटनामा दुई अधिकारी र दुई अग्निवीरवायु सहित कुल पाँच जना जवानको ज्यान गएको हो। मृतकहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र दानिश आलम रहेका छन्।
वायुसेनाका प्रवक्ताका अनुसार विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि विमानमा आगलागी समेत भएको जनाइएको छ।
भारतीय वायुसेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक व्यक्त गर्दै कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
घटनापछि उद्धार तथा व्यवस्थापन कार्य जारी रहेको छ भने दुर्घटनाको कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको वायुसेनाले जनाएको छ।




