बीरगन्ज,३० जेठ । कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा देशभर करिब ९ करोड ८२ लाख किलोभन्दा बढी रासायनिक मल मौज्दात रहेको तथ्यांक सार्वजनिक भएको छ।
कम्पनीका अनुसार ५० किलोका बोरामा गणना गर्दा देशभर १९ लाख १९ हजार ६४ बोरा मल स्टकमा रहेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार सहकारी र स्थानीय तहले गोदामबाट समयमै मल नउठाउँदा ठूलो परिमाणमा मल थन्किएको हो।
प्रदेशगत विवरणअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मल मौज्दात रहेको छ। त्यहाँ ६ लाख २२ हजार ६२४ बोरा युरिया र २ लाख २९ हजार १२४ बोरा डिएपी मल गोदाममा रहेको मन्त्रालयले जनाएको छ।
कोशी प्रदेशमा २ लाख ३९ हजार ९० बोरा युरिया र ४१ हजार ८५२ बोरा डिएपी मौज्दात छ। त्यस्तै बागमतीमा ८१ हजार ८६६ बोरा युरिया र ११ हजार ९८३ बोरा डिएपी, गण्डकीमा ८ हजार १३२ बोरा युरिया र २ हजार ६१६ बोरा डिएपी रहेको छ।
लुम्बिनी प्रदेशमा ३ लाख ७०७ बोरा युरिया र ९२ हजार ८७६ बोरा डिएपी, कर्णालीमा ४ हजार २४५ बोरा युरिया र १ हजार ४४३ बोरा डिएपी तथा सुदूरपश्चिममा ४९ हजार ८२ बोरा युरिया र ५ हजार ८६५ बोरा डिएपी मौज्दात रहेको विवरण सार्वजनिक गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार अहिले रोपाइँको मुख्य सिजन नभएकाले मलको माग कम भएको हो। उनले गोदाममा पर्याप्त युरिया रहेको र डिएपी केही सीमित मात्रामा मात्र मौज्दात रहेको बताए।
कम्पनीले स्थानीय तह र सहकारीसँग समन्वय गरी मल क्रमशः वितरण भइरहेको जनाएको छ।




