वीरगंज, ३० जेठ – पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ पंचरुखीमा आयोजित पहिलो पंचरुखी प्रिमियम लिग क्रिकेट प्रतियोगिता को उपाधि वीरगंजको सिर्सिया–११ ले जितेको छ।
फाइनल खेलमा सिर्सिया–११ ले उत्कृष्ट प्रदर्शन गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी उचालेको हो। उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।
१५० रनको लक्ष्य पछ्याएको सिर्सिया–११ ले रोमाञ्चक खेल प्रदर्शन गर्दै १९.४ ओभरमा लक्ष्य पूरा गर्यो। खेलको अन्तिम ओभरमा प्रहार गरिएको चौकाले टोलीलाई विजयी बनाएको थियो।
पंचरुखी क्रिकेट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजन किसान एग्रो सेन्टर पर्सागढीले गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि गुलाम हुसेनले जितेका थिए भने उत्कृष्ट ब्याट्सम्यानको उपाधि रौशन यादवले हात पारे। उनीहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि सुरज मानन्धरले खेलकुदले शारीरिक स्वास्थ्यसँगै सिर्जनात्मकता अभिवृद्धि गर्ने र समाजलाई नशामुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गाउँस्तरबाट खेल्ने खेलाडीहरू भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्ने भएकाले स्थानीय तह र समाजले खेलकुद विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा स्थानीय समाजसेवीहरू राजेश्वर प्रसाद यादव, रामअसिस प्रसाद यादव, हरि राउत प्रसाद कलवारलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम आयोजक समितिका अध्यक्ष आदर्श माझीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन रामकुमार साह तेलीले गरेका थिए।




