spot_img

‘घरदैलोमा डाक्टर’ कार्यक्रम अन्तर्गत प्रभु हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर

spot_img
spot_img

बीरगन्ज,२३ जेठ । सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु हस्पिटल, बीरगन्जले ‘घरदैलोमा डाक्टर’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नीसम्बन्धी परीक्षण गर्नुका साथै घुँडा तथा नितम्ब जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गरेका थिए। यस अवसरमा सहभागीहरूलाई निःशुल्क औषधि वितरण गर्नुका साथै सुगर परीक्षणसमेत गरिएको थियो।

कार्यक्रममा बीरगन्ज सामुदायिक आँखा अस्पतालको सहकार्य रहेको थियो। अस्पतालका आँखा विशेषज्ञ महेश सिंह धामीले सहभागीहरूको निःशुल्क आँखा परीक्षण गरी आवश्यक औषधि वितरण गरेका थिए।

शिविरमा महिला, पुरुष, ज्येष्ठ नागरिक, बालबालिका, अशक्त तथा असहाय गरी करिब २०० जनाले स्वास्थ्य सेवा लिएका छन्।

कार्यक्रम प्रमुख दिलिपराज कार्कीले अस्पतालसम्म पुग्न समय, साधन वा पहुँच नहुने नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

स्थानीय वडा अध्यक्ष अनुप सुवेदीले विशेषज्ञ चिकित्सकहरू गाउँ–टोलमै पुगेर स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताए।

कार्यक्रमका वडा संयोजक विशाल ठकुरीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूले समाजप्रति उत्तरदायी हुँदै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

शिविरका क्रममा आँखा परीक्षण गर्दा केही बिरामीमा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूको शल्यक्रिया तत्काल गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

स्थानीयवासीले विशेषज्ञ चिकित्सकको सेवा आफ्नै समुदायमा प्राप्त गर्न पाएको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय