बीरगन्ज,१४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगुवा नेता तथा कार्यकर्ताको भेला सम्पन्न गरेको छ। भेलामा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक तथा चुनावी रणनीति र क्षेत्रका विभिन्न जनसमस्याका विषयमा विस्तृत छलफल गरिएको पार्टी स्रोतले जनाएको छ।
भेलामा सहभागी अगुवा नेता तथा कार्यकर्ताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै नागरिकको आवाज प्रभावकारी रूपमा संसदसम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए। वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै परम्परागत राजनीति नागरिकमैत्री हुन नसकेको उल्लेख गरे।
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै पार्टीको नीति, सिद्धान्त र कार्यदिशाबारे स्पष्ट धारणा राख्दै आगामी दिनमा जनतामाझ पुग्ने रणनीतिबारे समेत छलफल गरिएको जनाइएको छ।
भेलामा पर्सा–२ क्षेत्रका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले परम्परागत राजनीतिक अभ्यासबाट अलग रही नीतिगत, जवाफदेही र परिणाममुखी राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सोही दिशामा अघि बढिरहेको बताए।
यसैबीच, आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टी उम्मेदवारलाई विजय गराउने रणनीतिबारे समेत गम्भीर छलफल भएको छ। निर्वाचनमा पार्टीको पकड मजबुत बनाउने, घरदैलो अभियानलाई प्रभावकारी बनाउने तथा मतदातासँग प्रत्यक्ष संवाद बढाउने कार्ययोजनामा सहमति जुटाइएको बताइएको छ।
भेलाका अवसरमा नयाँ तथा पुराना कार्यकर्ताबीच आपसी परिचय र समन्वय विस्तार भई संगठनात्मक एकता थप सुदृढ भएको सहभागीहरूको भनाइ छ। पार्टीले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवादमार्फत जनआधारित राजनीति अघि बढाउने जनाएको छ।

