बीरगन्ज,१५ माघ । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा आज बीरगन्जमा विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ। प्रेस सेन्टर पर्सा शाखाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र सञ्चारकर्मीहरूको हकहितसँग जोड्दै कार्यक्रमहरू तय गरेको जनाएको छ।
शाखा अध्यक्ष शिवनाथ यादवका अनुसार आज बिहान ८ बजे बीरगन्जको ऐतिहासिक घण्टाघरबाट प्रभातफेरी सुरु गरेका िथए । प्रभातफेरी सम्पन्न भएपछि बीरगन्जस्थित रक्तसञ्चार केन्द्रमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिने छ। “स्थापना दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नगरी जनहित र समाजसेवाका गतिविधिलाई प्राथमिकता दिएका हौँ,” अध्यक्ष यादवले बताए।
त्यसैगरी, स्थापना दिवसकै अवसरमा भोलि (शुक्रबार) प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पर्साका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउने विश्वास प्रेस सेन्टर पर्साले लिएको छ।
प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलका अनुसार अभिमुखीकरण कार्यक्रममा निर्वाचन प्रक्रिया, सञ्चारजगतको भूमिका र लोकतान्त्रिक मूल्य–मान्यताका विषयमा उम्मेदवारहरूसँग विस्तृत छलफल गरिनेछ।
स्थापना दिवसका कार्यक्रममा जिल्लाका सक्रिय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ।



