काठमाडौं,१६ माघ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा ३०२ वटा भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिहरू पहिचान गरी कारबाही प्रक्रिया सुरु गरेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, डिजिटल अपराध, सञ्चार माध्यम र विज्ञापनसँग सम्बन्धित विषयहरू अनुसार सम्बन्धित निकायमा सिफारिस गरिएको छ। केही गम्भीर डिजिटल अपराधलाई नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ भने सञ्चारसम्बन्धी विषय प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डको क्षेत्राधिकारमा अघि बढाइएको छ।
निर्वाचन आचारसंहिता र विद्युतीय कारोबार ऐनअनुसार सामाजिक सञ्जालमा भ्रम फैलाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याइने आयोगले जनाएको छ। साथै, आयोगले मतदातालाई लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सक्ने व्यवस्था मिलाएको छ।
आयोगले यस कदमबाट निर्वाचनको निष्पक्षता कायम राख्ने र लोकतन्त्रको मर्यादा सुनिश्चित गर्ने उद्देश्य राखेको जनाएको छ।



