spot_img

संसद्लाई मर्यादित बनाउने जिम्मेवारी प्रधानमन्त्रीकै हो : वर्षमान पुन

spot_img
spot_img

काठमाडौँ,३१ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी आफ्नो गन्तव्यमा ठिक ढङ्गले हिँडाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको स्पष्ट गरे ।

‘संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो । बहुमतको नेतृत्व गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था संसदीय व्यवस्था हो’, पुनले भने, ‘त्यस अर्थमा संसद्लाई कसरी व्यवस्थित बनाउने, कसरी मर्यादित बनाउने, कसरी यसलाई आफ्नो गन्तव्यमा ठिक ढङ्गले हिँडाउने भन्ने जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूकै हुन्छ ।’

पुनले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको कार्यक्रम भएकाले आफ्नै कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्रीको बेवास्ताले राम्रो सङ्केत नगर्ने भन्दै पुनले चिन्ता व्यक्त गरे । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदबाट बाहिरिएका प्रधानमन्त्री राष्ट्रपतिलाई धन्यवाद दिन आएको तर, धन्यवाद प्रस्तावमाथि विपक्षीले समेत समर्थन गर्दा प्रधानमन्त्री स्वयं संसदमा नहुनु दुःखद कुरा भएको बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नीति कार्यक्रम हो यो खासमा । राष्ट्रपतिबाट प्रस्तुत हुँदै गर्दा सम्माननीय प्रधानमन्त्री अनुपस्थित रहनुभयो । सम्बोधनपछि स्वयं प्रधानमन्त्रीले धन्यवाद प्रस्ताव राख्नुभयो । त्यो धन्यवादमाथि हामीले त्यसलाई समर्थन गर्यौं , तर प्रधानमन्त्री आफैँले समर्थन गर्नुभएन । यस्तो खालको नयाँ ‘प्राक्टिस’ भएको छ ।’

नयाँ विचार र नयाँ राजनीति भनेको यही हो कि भन्ने प्रश्न उनको थियो । ‘साथीहरूले नयाँ भनेको यो होइन होला ? त्यसैले यतातिर पनि ध्यानाकर्षण गराउँदै लोकतन्त्रको सुन्दर पक्ष भनेको संवाद हो । जनतासँग प्रधानमन्त्रीको संवाद हुने मुख्य थलो ‘पार्लियामेन्ट’ नै हो’, पुनले भने– ‘पार्लियामेन्टमा उहाँले सबैको सुन्न नसक्नुहोला । तर, एक दुई जना माननीयहरू, प्रतिपक्षी दलका नेताहरुको कुरा उहाँले सुनेर आफ्नो कार्यक्रमको ‘डिफेन्टड’ गर्नुपर्थ्यो । आफ्नो कार्यक्रमका नीतिका आवश्यकताहरू के हुन भनेर उहाँले ‘डिफेन्ड’ गर्नुपर्ने हुन्छ । हामीलाई आशा छ, यसको जवाफ दिने बेलासम्म सम्माननीय प्रधानमन्त्रीले यसको स्वामित्व लिनुहुनेछ । यसको औचित्य पुष्टि गर्नुहुनेछ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय