नेपालगञ्ज — स्वास्थ्य सेवा केवल बिरामीको उपचारमा मात्र सीमित हुँदैन, समाजलाई स्वच्छ, सुरक्षित र सचेत बनाउने दायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ नेपालगञ्ज न्यूरो हस्पिटल प्रा. लि. ले। स्थापना २०७८ माघ महिनामा भएको यस हस्पिटलले छोटो समयमै गुणस्तरीय स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वमार्फत छुट्टै पहिचान बनाउन सफल भएको छ।
हस्पिटलले सञ्चालन गर्दै आएको “सरसफाइ सप्ताह २०८३” कार्यक्रम अन्तर्गत अस्पताल परिसर मात्र होइन, आसपासका टोल, सडक र सार्वजनिक क्षेत्रसम्म सरसफाइ अभियान विस्तार गरिएको छ। स्थानीय समुदायसँग हातेमालो गर्दै गरिएको यस अभियानले अस्पतालप्रति जनविश्वास अझ बलियो बनाएको देखिन्छ।
यस अभियानको नेतृत्व दीनेश बिष्टको सक्रिय समन्वयमा नियमित रूपमा हुँदै आएको छ। उनको नेतृत्वमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू स्वयं सडकमा उत्रिएर सरसफाइमा जुट्ने गरेका छन्। “स्वस्थ समाजका लागि स्वच्छ वातावरण अपरिहार्य छ” भन्ने सन्देशलाई व्यवहारमै उतार्दै हस्पिटलले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासी बताउँछन्।
अस्पतालका चिकित्सकहरूको सेवाभाव, अनुशासन र बिरामीप्रतिको समर्पणले पनि नेपालगञ्ज क्षेत्रमा विशेष पहिचान बनाएको छ। न्यूरोसम्बन्धी जटिल समस्याका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस हस्पिटलले आधुनिक स्वास्थ्य सेवा र मानवीय व्यवहारलाई सँगसँगै अघि बढाइरहेको छ।
सरसफाइ कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले मास्क, ग्लोभ्स र आवश्यक सुरक्षा सामग्री प्रयोग गर्दै वातावरण संरक्षण र जनस्वास्थ्यप्रति आफ्नो जिम्मेवारी प्रदर्शन गरेका थिए। कार्यक्रममा सहभागी टोलीले “मेरो टोल, मेरो जिम्मेवारी” भन्ने भावना फैलाउँदै सर्वसाधारणलाई पनि सरसफाइमा सहभागी हुन आग्रह गरेको थियो।
स्थानीयवासीका अनुसार, नेपालगञ्ज न्यूरो हस्पिटलले बेला–बेलामा रक्तदान, स्वास्थ्य सचेतना, सामाजिक सहयोग तथा सरसफाइ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसले अस्पताललाई केवल उपचार केन्द्र नभई समाज परिवर्तनको अभियानसँग जोडिएको संस्थाका रूपमा स्थापित गरेको छ।
दीनेश बिष्टको नेतृत्वमा निरन्तर सञ्चालन हुने यस्ता अभियानले नेपालगञ्जलाई स्वच्छ, सभ्य र स्वास्थ्यप्रति सचेत शहर बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।



