अबको परिवर्तन सत्ताका लागि होइन, नयाँ पुस्ताको भविष्यका लागि होः उपेन्द्र यादव

spot_img

जनकपुर,१६ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अब हुने राजनीतिक परिवर्तन सत्तामा पुग्ने उद्देश्यका लागि नभई नयाँ पुस्ताको उज्ज्वल र सुरक्षित भविष्य सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर–३ का उम्मेदवारसमेत रहेका यादवले विभिन्न आन्दोलन र सङ्घर्षबाट हासिल गरिएका उपलब्धिलाई संस्थागत गर्ने नाममा विगतका राज्यसत्ताबाट इमानदारी नदेखिएको उल्लेख गरे। अब भने परिवर्तनको मूल उद्देश्य पुस्तान्तरणसहित देश र जनताको दीर्घकालीन हित हुनुपर्ने उनको भनाइ छ।

जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रको सन्दर्भ उल्लेख गर्दै यादवले देशको आवश्यकता र जनताको चाहनाअनुसार संविधान संशोधन वा पुनर्लेखन अपरिहार्य भएको बताए। उनका अनुसार वर्तमान संवैधानिक संरचनाले न त राजनीतिक स्थायित्व दिन सकेको छ न त न्याय र समावेशिता सुनिश्चित गर्न सकेको छ।

“आजको नेपाल पुरानै संवैधानिक ढाँचामा अल्झिएको छ । कमजोर संघीयता, पहिचानको अभाव र निरन्तर राजनीतिक अस्थिरताले युवा पुस्ताको भविष्यलाई अन्योलमा पारेको छ,” उनले भने। त्यसबाट मुक्तिका लागि शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा आमूल परिवर्तन गर्दै संविधान संशोधन वा पुनर्लेखनमार्फत देशलाई निकास दिनुपर्ने उनले जोड दिए।

अध्यक्ष यादवले राष्ट्रिय जातीय पहिचानलाई प्रतिबिम्बित गर्ने गरी राज्य पुनर्संरचनासम्बन्धी उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदन अनुरूप जातीय पहिचानसहित १० प्रदेशको संरचना लागू गराउन जसपा नेपाल दृढ रहेको स्पष्ट पारे।

संघीयता र नयाँ पुस्ताको परिवर्तनको चाहनामा कुनै पनि प्रकारको सम्झौता नहुने उनको अडान छ। “संघीयतालाई कागजमा सीमित होइन, व्यवहारमै कार्यान्वयन गर्ने हाम्रो दृढ संकल्प हो,” यादवले भने, “अबको परिवर्तन सत्ता केन्द्रित होइन, नयाँ पुस्ताको सुन्दर र सुनिश्चित भविष्यका लागि हो। त्यसमा जसपा नेपाल अडिग छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय