काठमाडौं,१८ माघ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपाका सह–संयोजक माधव कुमार नेपालसहित दायर गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज आइतबार सुनुवाइ हुँदैछ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाललगायत व्यक्तिविरुद्ध अनुसन्धान गरी तामेलीमा राख्ने निर्णयसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । आयोगबाट उक्त निर्णयको फाइल विशेष अदालतमा पेस भएपछि आजका लागि सुनुवाइ तोकिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ ।
अख्तियारका अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा रहेका नेपालले पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
अभियोगपत्रअनुसार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्को २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिइएको थियो । साथै २०६६ माघ १८ गते ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको दाबी अभियोगपत्रमा उल्लेख छ ।
यस प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरिएको भन्दै ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । सोही प्रकरणमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।



