काठमाडौं,२८ वैशाख । प्रधानमन्त्री बालेन शाह लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्रीसँग सुकुमवासी बस्ती खाली गराइएको विषय, सुरक्षा प्रशासन तथा समसामयिक मुद्दामा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा उपस्थित नभएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको हो ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा कांग्रेसका तर्फबाट समिति सदस्य रहेका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव सहभागी भएनन् ।
कांग्रेस नेता आङ्देम्बेले प्रधानमन्त्रीकै उपस्थितिमा मात्रै छलफल सार्थक हुने भन्दै अनुपस्थितिमा बैठकको औचित्य नरहेको बताए ।
उनले प्रधानमन्त्री बालेन शाह गृह मन्त्रालयको भूमिकामा रहेकाले सुकुमवासी व्यवस्थापन, सुरक्षा अवस्था लगायत विषयमा प्रत्यक्ष जवाफ दिनुपर्ने बताए । “प्रधानमन्त्री उपस्थित हुने भए हामी बैठकमा सहभागी हुन्छौं, नत्र औपचारिक उपस्थितिका लागि मात्रै बस्ने अवस्था छैन,” उनले भने ।
आङ्देम्बेका अनुसार समिति सभापति हरि ढकाललाई प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन पटक–पटक आग्रह गरिएको थियो । प्रधानमन्त्री उपस्थित भए बैठकबारे जानकारी गराउनसमेत कांग्रेसले आग्रह गरेको उनले बताए ।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक दोस्रोपटक प्रभावित बनेको छ ।




