काठमाडौँ, १८ माघ । नेशनल क्याम्पेन फर एजुकेशन (एनसीई) ले सबै सरोकारवालालाई १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई निर्वाचन वा राजनीतिक गतिविधिमा प्रयोग नगर्न अपिल गरेको छ। एनसीईका अध्यक्ष लवराज ओलीले विज्ञप्ति जारी गर्दै जुलुस, र्याली, सभा, प्रचार–प्रसार, झण्डा, नारा, फोटो, भिडियो तथा डिजिटल माध्यममार्फत बालबालिकाको प्रयोग कानुनी रूपमा निषेध गरिएको स्पष्ट पार्नुभएको छ।
विज्ञप्तिमा उल्लेख छ कि यस्तो प्रयोगले बालबालिकाको शिक्षा, सुरक्षा, मानसिक स्वास्थ्य र समग्र विकासमा गम्भीर नकारात्मक प्रभाव पार्छ। उनले भने, “विद्यालय जाने उमेरका बालबालिकालाई आन्दोलन वा निर्वाचनको वातावरणमा तान्नु बाल अधिकारको उल्लंघन मात्र नभई वयस्कहरूको गैरजिम्मेवार व्यवहार हो।”
एनसीईले विद्यालयको नियमित सञ्चालन सुनिश्चित गर्न, बाल अधिकारको सम्मान गर्न र निर्वाचन वा आन्दोलनमा बालबालिका प्रयोग नगर्न सबैलाई जिम्मेवारीपूर्ण व्यवहार अपनाउन आह्वान गरेको छ।




