रुपन्देही,०३ वैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देही को टोलीले नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा–२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली–१५ का २८ वर्षीय सुजन खनाल (मुक्तिप्रसाद खनाल), सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठ–९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन्।
सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द का अनुसार जिल्लाका विभिन्न स्थानमा नक्कली नोटको कारोबार भइरहेको विशेष सूचनाका आधारमा निगरानी बढाइएको थियो।
सोही क्रममा चैत २२ गते सिद्धार्थनगर–५ (भैरहवा) र चैत २६ गते सैनामैना–१० बाट एक हजार रुपैयाँ दरका २१ थान नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

