काठमाडौँ,०३ वैशाख । नेपाली कांग्रेस को आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
सर्वोच्च अदालत का न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासमा जारी सुनुवाइमा रिट निवेदक पक्षको बहस पूरा नभएपछि अर्को दिनका लागि सारिएको हो।
बिहीबार भएको सुनुवाइमा रिट निवेदक शेरबहादुर देउवा पक्षका कानुन व्यवसायी तथा सरकारी वकिलले बहस गरेका थिए। इजलासले शुक्रबारका लागि सभापति गगन थापा पक्षका कानुन व्यवसायीलाई बहस गर्न समय तोकेको छ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेल को इजलासले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पेसीको सूचना दिन आदेश दिएको थियो।
उक्त विवादमा देउवा र पूर्णबहादुर खड्का ले ४ माघमा रिट दायर गरेका हुन्। रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न तथा नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै भंग गर्न माग गरिएको छ।
प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सुनिलकुमार पोखरेल ले मुद्दामा थप संवैधानिक र कानुनी प्रश्नहरूको निरूपण आवश्यक रहेको उल्लेख गरेका थिए।
मुद्दा संवेदनशील भएकाले सर्वोच्चमा सुनुवाइ निरन्तर जारी रहने जनाइएको छ।

