काठमाडौँ,२९ माघ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन आह्वान गरेको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम, आयोगले माघ २७ गतेको निर्णय अनुसार सबै उम्मेदवारलाई पत्राचार गर्दै घोषणापत्र बुझाउने निर्देश दिएको हो। आयोगका शाखा अधिकृत (कानुन) अरुण अधिकारीले यस सम्बन्धमा पत्र जारी गरेका छन्।
आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूलाई प्राप्त घोषणापत्रको अभिलेख राखेर आयोगमा पठाउन पनि निर्देशन दिएको छ। त्यस्तै, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आह्वान गरिएको छ।
यसअघि निर्वाचन आयोगले सबै राजनीतिक दललाई पनि फागुन ३ गतेभित्र दलीय निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ।



