सप्तरी,०७ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको मूल लक्ष्य अधिकारसम्पन्न संघीयता संरक्षण र मधेसको मुक्ति रहेको बताएका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा–विद्यार्थी क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यी लक्ष्य प्राप्तिका लागि कुनै पनि संघर्ष गर्न तयार रहेको स्पष्ट पारे।
उपेन्द्र यादवले संघीयता मधेस जनविद्रोहबाट स्थापित भएको स्मरण गर्दै भने, “संघीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, छैन। राष्ट्रिय स्वतन्त्र पार्टी त झनै संघीयता खारेज गर्ने दाउमा छ। तर अधिकारसम्पन्न संघीयता र मधेसको मुक्ति हाम्रो मूल लक्ष्य हो, र यसको लागि जस्तोसुकै संघर्ष गर्न तयार छौँ।”
यादवले मधेश प्रदेश नामकरणका समयमा पनि कांग्रेस र एमालेले जानकी, जनक लगायतका नाम राखेर प्रदेशलाई मधेशीय पहिचान दिन नदिएको उल्लेख गर्दै यस विषयमा अझै अधिकारसम्पन्न प्रदेश बनाउनको लागि संघर्ष जारी रहेको बताए।
उपेन्द्र यादवले मुलुकका अन्य प्रदेशलाई नदीका नामबाट मात्र चिनाउने कार्य अव्यवहारिक रहेको टिप्पणी गर्दै देशमा मधेशी र अन्य उपेक्षित समुदायका अधिकार अझै पनि सुरक्षित नभएको बताए। उनले यी समुदायका लागि समान अधिकार सुनिश्चित गर्न निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरे।




