बीरगन्ज,०७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बीरगन्ज महानगरपालिका–२१ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।
कार्यक्रममा उनले स्थानीय जनतालाई असल, इमानदार र जवाफदेही नेतृत्वको पहिचान गरेर मतदान गर्न आग्रह गर्दै पर्सा मात्र नभई समग्र मुलुकको समुन्नत निर्माणमा योगदान पुर्याउनुपर्नेमा जोड दिए। चौरसियाले नेकपाले सधैं जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राखेको स्मरण गर्दै आगामी दिनमा पनि जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उम्मेदवार चौरसियाले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गर्न शिक्षित, अनुभवी र जवाफदेही नेतृत्व अपरिहार्य भएको बताए। उनले भने, “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो। आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताको हितमा खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनु आवश्यक छ।”
चौरसियाले आगामी निर्वाचनमा नेकपाको तारा छापमा मतदान गर्न अपील गर्दै पारदर्शी, जिम्मेवार र विकासमुखी नेतृत्वका लागि मतदाताबाट अवसर मागे। घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापासहित स्थानीय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। नेकपा पर्सा–१ मा प्रत्यक्ष संवाद र सुशासन एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाइरहेको जनाएको छ।

