काठमाडौं,०८ फागुन । कांग्रेस सभापति गगनकुमार थापा ले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्ने कांग्रेसको स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘सीधा प्रश्नोत्तर’ कार्यक्रममा उनले भने, “हिजो प्रधानमन्त्री वा मन्त्री भएका नेताले भ्रष्टाचार गरेमा कांग्रेसले अख्तियारको सिफारिस अनुसार कारबाही गर्छ; यसमा नेता वा नाता हेर्दैन।”
सभापति थापाले प्रत्येक मन्त्रालयमा गभर्नेस युनिट स्थापना गर्ने र राजनीतिक नियुक्तिमा दलको हैसियत होइन, योग्यता र क्षमतालाई प्राथमिकता दिने बताए। कांग्रेसले संवैधानिक आयोग, विश्वविद्यालय, तथा अन्य नियुक्तिमा भागबन्डा नगर्ने र पद लिनुअघि र पद मुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने योजना अघि सारेको छ।
थापाले गठबन्धनका लागि सम्झौता नगर्ने र मुलुकको राजनीतिमा पारदर्शिता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “बदलिएर आएको कांग्रेसले देश बदल्छ भन्ने संकल्प लिएर आएका छौं। सत्ता र शक्तिका लागि गठबन्धनको संस्कारले नेपालको राजनीतिलाई खराब गरेको छ।”
प्रवासमा रहेका नेपालीको योगदानलाई राष्ट्रको विकासमा प्रयोग गर्न कांग्रेसले पहल गर्ने र गैरआवासीय नेपाली नागरिकसँग सम्बन्धित ऐन–कानुन संशोधन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
आर्थिक योजनामा थापाले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने लक्ष्य राखेको बताए। निजी क्षेत्रलाई प्रवर्द्धन गर्न र करदर स्थिर राख्न पहल गर्ने, ५ वर्षभित्र नेपाललाई दक्षिण एसियामा लगानी योग्य देश बनाउने र १५ लाख रोजगारी सिर्जना गर्ने योजना समेत घोषणापत्रमा समावेश गरिएको उनले बताए। युवा लागि बिना धितो ऋण उपलब्ध गराउने, नीति–नियन्त्रणमा पारदर्शिता कायम गर्ने र सरकारी कानुन सुधार गर्ने विषयमा पनि कांग्रेसले स्पष्ट योजना बनाएको सभापति थापाले बताए।

