एमालेका प्रदीप यादवले पर्सा–१ मा घरदैलो गर्दै चुनावी अभियानलाई गति दिए

spot_img

बीरगन्ज,१६ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। शनिबार बिहान वीरगञ्ज महानगरपालिका–३० अन्तर्गत लालपर्सा र प्रसोतीपुर क्षेत्रमा उनले घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सयौँ मतदाताले फूलमाला र गम्छा ओढाएर यादवको स्वागत गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका यादवले प्रत्यक्ष संवाद गर्दै विगतका दुई कार्यकालमा गरेका विकास गतिविधिहरूको मूल्याङ्कन गर्न मतदातासँग आग्रह गरे।

यादवले क्षेत्रको विगत अवस्थालाई स्मरण गराउँदै भने, “दश वर्षअघि पर्सा–१ को पूर्वाधार कस्तो थियो भन्ने कुरा सबैलाई थाहा छ। सडक, विद्यालय, धार्मिक स्थल, खेलमैदान र अन्य संरचनामा भएको परिवर्तन आफैँले देख्नुभएको छ।” उनले आफू क्षेत्रका हरेक टोल–बस्ती र समस्यासँग परिचित उम्मेदवार भएको उल्लेख गर्दै अन्य प्रतिस्पर्धीहरू स्थानीय वास्तविकतासँग अपरिचित रहेको संकेत गरे।

एमालेले अघि सारेको राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासको मार्गलाई आत्मसात् गर्दै अघि बढेको बताउँदै यादवले चुनावी समयमा मात्र देखिने नेताबाट सचेत रहन मतदातालाई आग्रह गरे। “जनताको सुख–दुःखमा सधैँ साथ दिने नेतृत्व आवश्यक छ,” उनले थपे।

उनले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन, स्थानीय उद्योग विस्तार, महिला सशक्तीकरण र युवा अवसर वृद्धि जस्ता योजनाहरू अघि सारे। सूर्य चुनाव चिन्हमा मतदान गर्न अपिल गर्दै उनले प्रमाणित नेतृत्वलाई समर्थन गर्न आग्रह गरे।

यादवले विगतमा सडक, विद्यालय, अस्पताल, धार्मिक संरचना, मसान घाट, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारका क्षेत्रमा काम गरेको दाबी गरे। उनले संसद्मा पर्साका मुद्दाहरू निरन्तर उठाउँदै आएको पनि स्मरण गराए।

कार्यक्रमका क्रममा स्थानीयले उठाएका विभिन्न समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता यादवले व्यक्त गरे। वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय अखण्डता, संविधान र सङ्घीय संरचना सुदृढ गर्न एमाले नेतृत्वको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो।

घरदैलो कार्यक्रममा एमालेका विभिन्न तहका नेता–कार्यकर्ता, युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय