बारा,१६ फागुन । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले कांग्रेस सबै जातजाति र समुदायको साझा पार्टी भएको उल्लेख गर्दै अवसरबाट वञ्चित स्थानीय समूहलाई आगामी स्थानीय र प्रदेश निर्वाचनमा प्राथमिकता दिइने बताएका छन्।
कोल्हबी नगरपालिका मा आयोजित बारा क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै थापाले विगतमा भएका कमजोरी सच्याउँदै सबै समुदायलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कुनै समुदायले अन्याय महसुस गरेको भए त्यसको क्षतिपूर्ति आगामी निर्वाचनबाट गरिने उनले बताए।
उनले फागुन २१ गते हुने निर्वाचनमा आन्तरिक गडबडी नगरी एकताबद्ध भएर कांग्रेसलाई मत दिन कार्यकर्तालाई आह्वान गरे। आगामी पाँच वर्ष विकास, सुधार र स्थायित्वको ग्यारेन्टी कांग्रेसले लिने दाबी गर्दै उनले देशलाई द्वन्द्व र विभाजनबाट टाढा राख्ने प्रतिबद्धता जनाए।
“न जातका नाममा, न धर्मका नाममा, न मधेस–पहाडका नाममा कुनै विभाजन हुन दिइनेछ,” थापाले भने, “कांग्रेस नेतृत्वको सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अघि बढाउँछ।”
उत्तेजनामा नबहकिन सबैलाई समेटेर अघि बढ्ने र खेर गएको समयलाई सदुपयोग गर्दै परिणाममुखी काम गर्ने उनको भनाइ थियो।

