काठमाडौं,२३ फागुन । संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक सञ्चालन गर्ने तयारीमा जुटेको छ। सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन संसद् भवन चाँडै उपलब्ध गराउने विषयमा सरकारसँग छलफल भइरहेको छ।
गत सोमबार नेपाल सरकार का मुख्यसचिव सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायतको टोलीले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेको थियो। अवलोकनपछि चैतको पहिलो सातासम्म प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न सकिने गरी भवन उपलब्ध गराउन आग्रह गरिएको गिरीले जानकारी दिए।
सरकारले चैत १ गतेसम्म प्रतिनिधिसभा बैठक कक्षसहित करिब ६ वटा संरचना हस्तान्तरण गर्ने तयारी गरेको पनि उनले बताए।
सिंहदरबार परिसरभित्रको पुतली बगैँचा क्षेत्रमा अत्याधुनिक सुविधासहित नयाँ संसद् भवन निर्माण भइरहेको छ। भवनको आसपासमा राजनीतिक दलहरूका संसदीय दलका कार्यालय, संसद् सचिवालय तथा राष्ट्रिय सभासँग सम्बन्धित संरचनाहरू राखिएका छन्।
नयाँ भवनमा ७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष रहनेछ। यसमध्ये सभा हलमा ४०० र बल्कोनीमा ३०० सिट रहनेछन्। राष्ट्रिय सभाको बल्कोनीमा २९० सिट क्षमता रहनेछ भने संयुक्त प्रयोगका लागि ३५० सिट अट्ने लबी तयार गरिएको छ।
त्यसैगरी करिब १० वटा राजनीतिक दलका संसदीय दल कार्यालय, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख सचेतकहरूका लागि विशेष कक्ष तथा हरेक कार्यकक्षमा २५ सिटको बैठक कक्षको व्यवस्था गरिएको छ।संसद् परिसरमा पुस्तकालय, क्यान्टिन, प्रेस तथा छपाइ भवन, बगैँचा र खुला हरियाली क्षेत्र पनि रहनेछन्। साथै करिब ७०० सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू समेत निर्माण भइरहेका छन्।
संसद् सचिवालयका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि संघीय संसद्का गतिविधि थप व्यवस्थित र आधुनिक ढंगले सञ्चालन हुने अपेक्षा गरिएको छ।

