धनगढी,२४ फागुन । कैलालीको धनगढीमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थी जोशी मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीका अनुसार शनिबार राति (फागुन २३) सरस्वतीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि उनका श्रीमान् डम्मरराज जोशी फरार रहेका छन्। प्रहरीले श्रीमान्ले नै हत्या गरेको आशंका गर्दै खोजी कार्य तीव्र बनाएको जनाएको छ।
घटनाबारे जानकारी भने उनीहरूका छोराले राति छिमेकीलाई दिएका थिए। त्यसपछि छिमेकीको सूचनाका आधारमा प्रहरी टोली आइतबार बिहान करिब १ बजे घटनास्थलमा पुगेको थियो।
प्रहरीले सरस्वतीको टाउकोमा धारिलो हतियारले प्रहार गरिएको देखिएको जनाएको छ। मृतकको शव परीक्षणका लागि धनगढीस्थित **सेती प्रादेशिक अस्पताल**मा राखिएको छ।
घटनामा संलग्न भएको आशंकामा फरार रहेका जोशीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

