मधेस प्रदेशमा कांग्रेसको निराशाजनक नतिजा, ३२ मध्ये एक सिट मात्रै

spot_img

काठमाडौं,२६ फागुन । पछिल्लो निर्वाचन परिणामले मधेस प्रदेशमा नेपाली कांग्रेसको जनाधार कमजोर बन्दै गएको संकेत गरेको छ। कुनै समय पार्टीको बलियो आधार क्षेत्र मानिएको मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये यसपटक कांग्रेसले केवल एक सिट मात्र जित्न सफल भएको छ।

रौतहट–२ बाट फिरदोश आलम विजयी भए पनि अन्य सबै क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएका छन्। मधेसमा पार्टीको प्रभाव जोगाउने प्रयासस्वरूप सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहसँग पराजित भएपछि कांग्रेसलाई ठूलो राजनीतिक धक्का लागेको छ।

सर्लाही–४ मा प्रत्यक्षतर्फ थापाले २२ हजार ८३१ मत प्राप्त गर्दा अमरेशकुमार सिंहले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका थिए। सोही क्षेत्रमा समानुपातिक मतमा पनि कांग्रेस कमजोर देखिएको छ। रास्वपाले ४५ हजार ५१६ मत प्राप्त गर्दा कांग्रेसले १८ हजार ८१ मत मात्रै पाएको तथ्याङ्क सार्वजनिक भएको छ।

समग्र मधेस प्रदेशको समानुपातिक मततर्फ पनि कांग्रेस पछाडि परेको देखिन्छ। प्रदेशभर रास्वपाले ११ लाख १८ हजार २२८ मत प्राप्त गर्दा कांग्रेसले २ लाख ५१ हजार ८२२ मत मात्र पाएको छ।

२०७९ सालको निर्वाचनमा गठबन्धनको सहारामा सात सिट जितेको कांग्रेस यसपटक एक्लै चुनावी मैदानमा उत्रँदा एउटा सिटमा सीमित हुनु पार्टीका लागि ठूलो चुनौतीको रूपमा हेरिएको छ। मधेस आन्दोलनपछि क्रमशः कमजोर हुँदै गएको कांग्रेसको प्रभाव यस निर्वाचनमा झन् घटेको विश्लेषण गरिएको छ।

मधेस प्रदेशको यो नतिजाले कांग्रेसको संगठन, रणनीति र नेतृत्वबारे पार्टीभित्र र बाहिर व्यापक बहस सुरु हुने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय